२४ भदौ, बैतडी । सुदूरपश्चिम प्रदेश डेंगुको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।
निर्देशनालयका फोकल पर्सन हेमराज जोशीले दिनानुदिन डेङ्गुका बिरामी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । पछिल्लो एक महिनामा प्रदेशमा ३ सय ५३ डेंगुका बिरामी भेटिएका छन् । जोशीले भने, “अगस्टमा डेंगुका बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।”
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा दुई साताभित्र डेंगुको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । विगत आठ महिनाको अवधिमा प्रदेशमा डेंगु संक्रमणका कूल ६८० जनामा सङ्क्रमण देखिएको छ । तथ्यांकअनुसार कैलाली जिल्लामा सबैभन्दा बढी डेङ्गुका बिरामी छन् भने सबैभन्दा कम बैतडीमा संक्रमण देखिएको छ ।
यस अवधिमा कैलाली जिल्लामा मात्रै २ सय ३२ जना डेंगुका बिरामी भेटिएका छन् । यसबाहेक अछाममा ३६, डोटीमा १५, डडेल्धुरामा ८, बैतडीमा १, दार्चुलामा ६, बझाङमा ६ र बाजुरामा २८ जनामा सङ्क्रमण देखिएकोले यो सङ्क्रमण प्रदेशभर फैलिएको सङ्केत गर्दछ ।
१८३ पटक हेरीएको