३० भदौ, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय हेटौंडाले चिकित्सकमाथि आक्रमण गर्ने चारजनालाई थप अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अस्पतालमा एक व्यक्तिको मृत्युको विषयमा विवाद भएपछि हेटौँडाको साँचो अस्पतालका चिकित्सकलाई अस्पताल परिसरमै कुटपिट भएको छ ।
साँचो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको थियो ।
पीडित चिकित्सकले दिएको जानकारी र सिसिटिभी फुटेजका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
डेङ्गुबाट पीडित हेटौंडा–१२ का राजेश प्रधानको भदौ १० गते मृत्यु भएको थियो। मृत्युपछि पीडितका आफन्तले डा थापा र डा बिडारीमाथि आक्रमण गरेका थिए ।
तर प्रधानलाई थप उपचारका लागि साँचो अस्पतालले चितवन मेडिकल कलेजमा रिफर गरेको थियो जहाँ उनको मृत्यु भएको थियो ।
यसैबीच, हेटौंडाका सरकारी तथा निजी अस्पतालका चिकित्सकले शुक्रबार चिकित्सकमाथि आक्रमण गरेको विरोधमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
डा थापा सामान्य चिकित्सक हुन् भने डा बिडारी अस्पतालको एनेस्थेसिया विभाग हेर्छन् ।
१३२ पटक हेरीएको