कोशी

कोशीमा डेंगुबाट १७ जनाको मृत्यु ३० हजार बढी संक्रमित

कोशीमा डेंगुबाट १७ जनाको मृत्यु ३० हजार बढी संक्रमित

असोज ११, झापा । कोशी प्रदेशमा गत असार मसान्तसम्ममा डेङ्गुका कारण १७ जनाको मृत्यु भएको छ भने ३० हजार ३३० जनामा ​​सङ्क्रमण देखिएको छ ।

सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगुको संक्रमण देखिएको छ । गत असार मसान्तसम्म जिल्लामा डेङ्गुका कारण १३ जनाको मृत्यु भएको छ भने १९ हजार ४३२ जनामा ​​सङ्क्रमण देखिएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेक चाम्लागाईले जानकारी दिनुभयो ।

कोशी प्रदेशका १४ वटै जिल्लामा डेंगुको संक्रमण देखिएको छ । उनका अनुसार मोरङमा चार हजार २ सय ४२ जनामा ​​डेङ्गुको संक्रमण देखिएको छ भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ । झापामा अहिलेसम्म दुई हजार ९६४ जनामा ​​डेङ्गुको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ । त्यस्तै उदयपुरमा पनि डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

डेंगु सङ्क्रमितको सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

तेह्रथुम जिल्लामा अहिले २ सय ११, पाँचथरमा ३३८, इलाममा ५ सय ३५, उदयपुरमा ८१६, धनकुटामा ४३२, भोजपुरमा ३३१, संखुवासभामा ८६७, ओखलढुङ्गामा ४०, ताप्लेजुङमा ३३, खोटाङमा ४५ र सोलुखुमामा २ सय २ जना संक्रमित छन् ।

डेंगुको संक्रमण फैलिएसँगै प्रदेशका सबै स्थानीय तहले डेंगु विरुद्धको अभियान सुरु गरेका छन् । तर, प्रदेशमा डेंगुको संक्रमण बढ्दै गएको छ ।

१७९ पटक हेरीएको

सम्बन्धित समाचार