असोज २७, काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले नेपाली संस्कृतिलाई विभिन्न देशले पछ्याउन थालेको बताएका छन् ।
होमस्टे महासंघको चौथो राष्ट्रिय महाधिवेशनको शुक्रबार चितवनको माडीमा उद्घाटन गर्दै मन्त्री महतोले यस्तो बताएका हुन् । नेपाली संस्कृतिको संरक्षण र प्रवद्र्धनमा होमस्टेको विशेष भूमिका रहेको भन्दै उनले समृद्धिमा योगदान पु¥याउने बताए ।
‘हाम्रो संस्कृति, सभ्यता र परम्परालाई होमस्टेको सहयोगले जीवन्त राखिएको छ । होमस्टे सुविधाले नेपाली संस्कृतिलाई विश्वमा चिनाउन पनि मद्दत गरेको छ ,’ मन्त्री महतोले प्रशंसा गर्दै यहाँका परम्परा र संस्कृति अध्ययन गर्न विदेशीले पनि नेपाल आउने बताए ।
तर, संस्कृति र सभ्यतामा धनी भए पनि नेपालले आतिथ्य सत्कार गर्न नसकेको मन्त्रीले टिप्पणी गरे । उनले होमस्टे सुविधा विस्तार गर्नुपर्नेमा जोड दिए ।
मन्त्रीले संस्कृति संरक्षणमा राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघका पदाधिकारीहरुले चितवनको माडी उपत्यकालाई होमस्टे सिटीका रुपमा विकास गर्न सकिने बताए । महाधिवेशनमा देशभरबाट करिब ५०० होमस्टे प्रतिनिधिको सहभागिता रहेको छ । हाल नेपालका ६८ जिल्लामा होमस्टे सञ्चालन भइरहेको छ ।
कार्यक्रमले नयाँ कार्यसमिति चयन गरेको हो ।
१४४ पटक हेरीएको