२५ कात्तिक, काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीचको खेल खेल्ने राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले शुक्रबार उक्त खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन् । तर, अभ्यास खेलका क्रममा घाइते भएका अनुभवी डिफेन्डर अनन्त तामाङ टोलीमा परेका छैनन् । नेपालले नोभेम्बर १६ मा दुबईको अल मातुम स्टेडियममा युएईसँग खेल्नेछ ।
त्यसैगरी मंसिर २१ गते दशरथ रंगशाला, काठमाडौंमा यमनसँग खेल्नेछ । नेपाल, युएई, बहराइन र यमन फिफा विश्वकप २०२६ र एएफसी सियान कप २०२७ छनोटको दोस्रो चरणको समूह ‘एच’ मा परेका छन् । पहिलो चरणको छनोटमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेको थियो ।
युएईविरुद्ध खेल्ने खेलाडीमा किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट र छिरिङ लामा रहेका छन् । त्यसैगरी टोलीमा योगेश गुरुङ, लाखेन लिम्बु, उत्सव राई, कृति रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल, अन्जन विष्ट, आयुष घलान, गिलेस्पे जङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार रहेका छन् ।
१७३ पटक हेरीएको