३ मंसिर, काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा कात्तिक महिना (अक्टोबरदेखि मंसिरको मध्यसम्म) २४ हजार ४०९ विदेशी पर्यटकले भ्रमण गरेका थिए । जसमा दक्षिण एसियाली मुलुकका ७ हजार ४ सय ७९ र अन्य देशका १६ हजार ९३० पर्यटक रहेका छन् ।
विसं २०८० को शुरुवातदेखि वैशाख र असोजपछि कात्तिक महिना तेस्रो धेरै पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना वा एसीएपीका प्रमुख डा रविन कडारियाले बताए । वैशाखमा ३१ हजार ९५१ पर्यटकले एसीएपी क्षेत्रको भ्रमण गरेका थिए भने २८ हजार ७०५ पर्यटक यस क्षेत्रमा पुगेका थिए । विसं २०८० को सात महिनामा एक लाख २५ हजार ५३४ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रमा भ्रमण गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ९५ हजार ९११ थियो । ‘कोभिड–१९ को महामारीका कारण सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले क्रमशः गति लिइरहेको छ’, डा कडारियाले भने, ‘वर्षको दोस्रो पर्यटकीय सिजन सुरु हुँदासम्म पर्यटकको आगमन बढ्ने सम्भावना छ । अगाडि।”
अन्नपूर्ण सर्किटमा आउने विदेशी पर्यटकको मात्रै तथ्यांक एसीएपीले राखेको छ । आन्तरिक पर्यटकको संख्या यकिन हुन सकेको छैन । तर, सडकबाट मुस्ताङ र मनाङ घुम्न आउने आन्तरिक पर्यटक भने उल्लेख्य छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोराङ्गला पास, माथिल्लो मुस्ताङ, घोडेपानीलगायत अन्नपूर्ण सर्किटका विभिन्न गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको डा कडारियाले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र ७६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
हालैको नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पनि अन्नपूर्ण आधार शिविर पुगेका थिए ।
१३४ पटक हेरीएको