१३ माघ, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सार प्रशासनलाई प्रभावकारी बनाउन डिजिटलाइजेसन आवश्यक रहेको बताउनुभएको छ ।
७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्रीले उपलब्ध प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड र असल अभ्यासलाई अवलम्बन गर्दै बलियो भन्सार प्रशासन निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । उनले भन्सार सेवामा नयाँ आविष्कार प्रयोग गर्न भन्सार प्रशासन उत्प्रेरित नभएको बताए । भन्सार सेवाको प्रभावकारिता र पारदर्शिताका लागि पनि उन्नत प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने मन्त्रीले बताए । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार सेवामा व्यावसायिकता र इमान्दारिताको खाँचो रहेको बताए । उनले भन्सार पूर्वाधार सुधार गरी भन्सार सेवामा पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस प्रणालीमा जान विभाग तयार रहेको बताए । राजस्व सचिव डा रामप्रसाद घिमिरेले भन्सार प्रशासन राजस्व सङ्कलन गर्ने माध्यम मात्र नभएर आन्तरिक तथा बाह्य व्यापारलाई मर्यादित र व्यवस्थित बनाउन यसको भूमिका महत्वपूर्ण हुने बताए । उनले भन्सार प्रशासनमा थप सुधार गर्नुपर्नेमा जोड दिए । अर्थसचिव डा कृष्णहरि पुष्करले भन्सार प्रशासनमा लगानीलाई मन्त्रालयले प्राथमिकता दिएको बताए । निजी क्षेत्रसँगको सहकार्यमा विभागमा सुधार भइरहेको उनले बताए । विभागका पूर्वमहानिर्देशक टंकमणि शर्मा र कृष्णहरि बाँस्कोटाले भन्सार प्रशासनलाई निजी क्षेत्रमैत्री बनाउँदै थप व्यवस्थित गर्न आग्रह गरे । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भन्सार सेवालाई समयसापेक्ष बनाउन र तस्करी नियन्त्रण गर्न आग्रह गरेका छन् । सो अवसरमा अर्थमन्त्री डा महतले विद्युतीय हस्ताक्षरको सेवाको शुभारम्भ, भन्सार सङ्ग्रहालयको उद्घाटन र ‘कस्टम स्मारिका’ विमोचन गरेका थिए ।
पूर्वमहानिर्देशक शर्मालाई ‘आदर पत्र’ प्रदान गरिएको छ । सेतोपाटी डटकमका पत्रकार भागवत भट्टराईलाई आर्थिक, राजस्व र व्यवस्थापन क्षेत्रमा योगदान पुर्याएबापत रु १५ हजार नगदसहित सम्मान गरिएको छ । त्यसैगरी विभागका कम्प्युटर इन्जिनियर मोहम्मद रहिम अन्सारीले ‘उत्कृष्ट कर्मचारी’ अवार्ड पाए । सो अवसरमा विभागले २५ कर्मचारी र आठ भन्सार अभिकर्तालाई सम्मान गरेको थियो ।
१४३ पटक हेरीएको