रुकुम, साउन ११ – रोजगारी र उज्वल भविष्यको सपना बोकेर अमेरिका पुगेका दुई रुकुमेली युवाले अनपेक्षित रूपमा ज्यान गुमाएका छन्। केही दिनको अन्तरालमै टेक्सस राज्यमा दुई युवाको निधनले रुकुम लगायत सम्पूर्ण नेपाली समुदायमा शोकको छाया छाएको छ।
पहिलो घटना टेक्ससको राजधानी अस्टिनमा भएको हो। बाँफिकोट गाउँपालिका–३ नेपानेका अन्दाजी २० वर्षीय ओपेन्द्र बोहरा सवारी दुर्घटनामा परेर निधन भएका हुन्। अमेरिका पुगेको झन्डै ८–९ महिना मात्र भएको अवस्थामा, नाइट ड्युटी सकेर पैदल कोठा फर्किंदै गर्दा उनलाई गाडीले ठक्कर दिएको थियो। नेपाली समयअनुसार शुक्रबार राति ठक्करपछि तत्काल अस्पताल पुर्याइए पनि उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको हो।
अस्टिनको ‘सेभेन इलाभेन’ स्टोरमा कार्यरत रहेका बोहराको केही दिनअघि मात्रै ग्रिन कार्ड एप्रुभ भएको पारिवारिक स्रोतले जनाएको छ। ठक्कर दिने गाडीको पहिचान अझै भइनसकेको र घटनाबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले बताएको छ।
यता, केही दिन अघि टेक्ससकै ह्युस्टन सहरमा रुकुम पूर्व, रुकुमकोटका २३ वर्षीय शुशिल केसीको पनि निधन भएको थियो। प्रारम्भिक रिपोर्टअनुसार उहाँको मृत्यु हृदयघातका कारण भएको हो। केसी केही वर्षअघि अध्ययनका लागि अमेरिका गएका थिए।
दुई उदीयमान युवाको यति चाँडो र अप्रत्याशित निधनले परिवार, आफन्त, मित्र र सम्पूर्ण प्रवासी नेपाली समाजलाई स्तब्ध बनाएको छ। अमेरिकी भूमि तिनका लागि सम्भावनाको थलो थियो, तर दुर्भाग्यवश त्यही भूमि अन्तिम गन्तव्य बन्न पुग्यो।
५१६ पटक हेरीएको
टेक मगर