रोल्पा, श्रावण २१ – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुगार, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखरा र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संयुक्त आयोजनामा त्रिवेणी गाउँपालिका–५ का ग्राहक सदस्यलाई फलफूलका बिरुवा वितरण गरिएको छ।
त्रिवेणी गाउँपालिका–५ मा रहेको केन्द्र नं. १० का केन्द्र प्रमुख जिवा डाँगीको अध्यक्षता तथा वडा नं. ५ का अध्यक्ष कृष्णबहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थामा आवद्ध ५० जना सदस्यलाई २०० कागती र सुन्तलाका बिरुवा वितरण गरिएको हो।
मातृभूमि लघुवित्तले नियमित कर्जा र बचत सेवा बाहेक ग्राहक सदस्यहरूको जीवनस्तर सुधारका लागि समय समयमा गैर आर्थिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सोही क्रममा फलफूलका बिरुवामार्फत उद्यमशीलता प्रवर्द्धन गर्न खोजिएको संस्थाका जुगार शाखा प्रमुख राजिव योगीले जानकारी दिनुभयो ।
फलफूलका बिरुवाले भविष्यमा आय आर्जनमा उल्लेख्य सहयोग पुर्याउने विश्वास लिइएको छ। यसले सदस्यहरूलाई आत्मनिर्भर बनाउने र कृषि तथा उद्यममा आधारित जीवनशैलीमा अग्रसर गराउने लक्ष्य लिएको छ।
संस्थाले हरेक वर्षझैँ यस वर्ष पनि ग्राहक संरक्षक कोष अन्तर्गत देशव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
४९६ पटक हेरीएको