मलेसियाबाट — टेक मगर /// जीवनमा कहिलेकाहीँ नसोचेका र नदेखेका परिस्थितिहरू भोग्नुपर्दोरहेछ। परिवार आर्थिक समस्यामा परेपछि छोरा वा छोरी भन्ने भेद हुँदैन, बाध्यताले सबैलाई प्रदेशिन बाध्य बनाउँछ। जीवनमा हरेक कामका लागि आवश्यक पर्ने अमूल्य कागज अर्थात् पैसा नै सबैभन्दा ठूलो आवश्यकता बन्ने रहेछ।
मेरो बालापन सुख, पीडा, वेदना र संघर्षबीच बित्यो। उमेर बढ्दै जाँदा जिम्मेवारी थपिँदै गयो। “यत्रो लगानी गरेर पढिस्, के गरिस् त?” भन्ने प्रश्न धेरैले गरे, तर मेरो अवस्था र समस्याको कारण खोज्ने प्रयास कसैले गरेन। म पढाइमा अब्बल विद्यार्थी पनि थिइनँ। शिक्षक–शिक्षिकाले बोर्डमा लेखिदिएको नोट नै राम्ररी सार्न नसक्ने मैले आफ्नो भविष्यको रेखा कसरी कोर्थेँ र?
बाल्यकाल लाठीचार्ज, गालामा हातको पञ्जाको छाप र आफ्ना पीडा कसैले नसुन्ने अन्धकारबीच बित्यो। मनभित्रका पीडा आँसुका रूपमा साथीहरूसँग पोख्थेँ, जसले केही क्षण मन हलुंगो बनाउँथ्यो। सानैदेखि आँखाको समस्या थियो। बोर्डिङ स्कूलको कक्षा ५ मा पढ्दा दुवै आँखाको शल्यक्रिया काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा गरिएको थियो। केही समय अवस्था सामान्य भए पनि बिस्तारै फेरि समस्या बढ्दै गयो।
कक्षा १० सम्मको अध्ययनपछि मेरो इच्छा पढाइभन्दा कमाइतर्फ थियो। परिवारको अवस्था देखेर काम गर्न मन लाग्थ्यो। तर बुबाको आग्रहका कारण पुनः डिप्लोमा तहमा तीनवर्षे पशु विज्ञान अध्ययन सुरु गरियो र सँगै कक्षा ११/१२ को पढाइ पनि निरन्तर चल्यो। अवस्था भने उस्तै रह्यो। बोर्डमा लेखिएको भन्दा शिक्षकले बोलेको कुरा टिप्न सजिलो लाग्थ्यो, किनकि बोर्डको लेखाइ साथीको कापी हेरेर सार्नुपर्थ्यो।
कक्षा ११, १२ र डिप्लोमाको अन्तिम वर्षमा नियमित कक्षा नै लिन छाडेपछि धेरैले “पागल” र “बौलाहा” भन्न थाले। घरमा बुबाआमाले छोरा पढ्न गएको छ भन्ने सोच्नुहुन्थ्यो, तर म भने पढाइभन्दा सञ्चार क्षेत्रमा सक्रिय हुन थालेको थिएँ।
पढाइका लागि त्रिवेणी गाउँपालिका–५, जुगार पुगेपछि मेरो सञ्चार यात्रा सुरु भयो। सुरुवातमा “Triveni Mind Fresh” युट्युब च्यानलमार्फत काम थालेँ। भाषागत अशुद्धता भए पनि निरन्तर अगाडि बढिरहेँ। त्यसपछि “Diyo Khabar”, “Triveni Khabar” तथा रेडियो पल्लवीसँग जोडिने अवसर पाएँ। रेडियो पल्लवीमै पहिलो पटक समाचार लेख्ने अवसर मिल्यो। त्यसपछि “Yug Post” फेसबुक पेज र वेबसाइटमा काम गर्ने मौका पाएँ। हाल “Thurpa Sanchar” फेसबुक पेज तथा “thurpasanchar.com” मा सह-सम्पादक काे भूमिकामा सक्रिय रूपमा कार्यरत छु।
सञ्चारकर्मले मलाई एउटा महत्वपूर्ण पाठ सिकायो— जहाँ धेरै ठाउँमा सम्मान हुँदैन, इमानदारीको कदर हुँदैन, मेहनतको मूल्य हुँदैन। सत्य बोल्दा वा लेख्दा शक्तिशाली र पहुँचवालाले विषय दबाउने प्रयास गर्छन् र जनतालाई भ्रममा पारिन्छ। सञ्चारकर्ममा लागेको करिब ६ वर्ष हुन आँट्यो र निरन्तर नै छ।
सञ्चारकर्मसँगै अध्ययन पनि पूरा भयो र उत्तीर्ण पनि भएँ। तर परिस्थितिले मलाई प्रदेशिन बाध्य बनायो। यसमा कसैको दोष छैन। देशमै रोजगारी पाउन दक्षता आवश्यक पर्दछ। पावर र पहुँचको भरमा जागिर खान सकिन्थ्यो होला, तर मेरो नैतिकताले त्यसलाई स्वीकार गरेन र प्रयास पनि गरिन।
आज पनि बालापनका ती दिनहरू सम्झँदा मन भक्कानिन्छ। साथीहरूको हेपाइ, शिक्षक–शिक्षिकाले समस्या बुझ्न नसकी गरेको बेवास्ता, दैनिक कुटपिट, र बुबाले विद्यालयमा पत्र पठाउँदा पनि अवस्था नबुझिएको पीडा अझै मनमा ताजै छ।
अन्त्यमा, मेरो अनुभवले एउटा कुरा सिकाएको छ;-
“अपाङ्ग हुनु अपाङ्गता होइन, मानवता बिर्सने मानिस नै वास्तविक अपाङ्ग हो।”
१०७ पटक हेरीएको