रोल्पाको परिवर्तन गाउँपालिका–३ इरिबाङमा रहेको लाली गुराँस युवा क्लबको २८औं वार्षिक उत्सव उद्घाटन गरिएको छ। “सभ्य समाजका लागि संस्कृति, विकास र परिवर्तनका लागि युवाहरू” भन्ने मूल नाराका साथ मंगलबार वडा नं. ३ बागमारामा क्लबको आफ्नै प्राङ्गणमा कार्यक्रम उद्घाटन गरिएको हो।

क्लबका अध्यक्ष हिरालाल खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष खिम विक्रम चन्द, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य तथा क्लबका पूर्व अध्यक्ष दिपेन्द्र कुमार डाँगी लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा कर्मचारी, झाँकी समूह, आमा समूह, युवा समूह, सुरक्षाकर्मी, पत्रकार, कलाकार, बुद्धिजीवी तथा व्यापारीहरूको उपस्थिति रहेको थियो।
वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने उक्त वार्षिक उत्सवका अवसरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको छ। क्लबका अध्यक्ष खड्काका अनुसार खुल्ला पुरुष भलिबल प्रतियोगितामा विजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाइनलिस्ट दुई टिमले जनही २५ हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै खुल्ला महिला भलिबल प्रतियोगितामा विजेता टिमले नगद ३५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले नगद २० हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाइनलिस्ट दुई टिमले जनही १० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
यसैगरी, एकल नृत्य प्रतियोगितामा प्रथम हुनेले ५ हजार रुपैयाँ, द्वितीयले ३ हजार रुपैयाँ, तृतीयले २ हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्नेले १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

कार्यक्रममा चर्चित कलाकारहरू पल शाह, ज्योति मगर, बिष्णु खत्री, प्रकाश दुतराज, अर्जुन सापकोटा, कमल बि.सी (माल्दाइ), शक्ति चन्द, गोपाल नेपाल, एम.एम.टी मगर, कामना ओली लगायत स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रम लाली गुराँस युवा क्लबका उपाध्यक्ष पूर्ण बहादुर बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन क्लबका सचिव मदन कुमार डाँगीले गर्नुभएको थियो।
३३ पटक हेरीएको