रोल्पामा दोस्रो जिल्ला स्तरीय क्वान्किडो च्याम्पियनसिप सम्पन्न भएको छ। शनिबार रोल्पा क्वान्किडो संघको आयोजनामा परिवर्तन गाउँपालिका–५ पुतलाचौरस्थित बहुउद्देश्यीय सभाहलमा प्रतियोगिता सम्पन्न गरिएको हो।

रोल्पा क्वान्किडो संघका अध्यक्ष सुरेन्द्र ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले गर्नुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी रहनुभएको थियो।

कार्यक्रममा पूर्व उपाध्यक्ष हित कुमारी बुढा मगर, लोपोन्मुख सांस्कृतिक प्रतिष्ठान संरक्षण समितिका अध्यक्ष लालबहादुर घर्ती मगर, नेकपा परिवर्तन गाउँपालिका सचिव कर्ण बहादुर बुढा मगर, नेपाल क्वान्किडो संघका केन्द्रीय सदस्य तथा प्रमुख प्रशिक्षक राजकुमार बुढाथोकी, रेफ्रीहरू अजय न्यौपाने, विपिन चौधरी, आमस पुन मगर र अशिम खड्काथोकीलगायतको उपस्थिति रहेको थियो। साथै, लुम्बिनी प्रदेश होटल व्यवसायी संघका सदस्य मन बहादुर घर्ती, अस्थायी प्रहरी पोष्ट पुतलाचौरका इन्चार्ज भविलाल विशुवा, खेलकुद विकास समिति सदस्य झकेन्द्र रोका, युनिटी युवा क्लबका अध्यक्ष अनिल खत्री थुर्पा सञ्चार मिडिया प्रालिका सह–सम्पादक लोकेन्द्र केसी तथा रेडियो मालाश्रीका रिपोर्ट सुर्य प्रकाश बुढाको समेत सहभागिता रहेको थियो।

रोल्पा क्वान्किडो संघका सचिव निराजन राना मगरको स्वागत मन्तव्यबाट सुरु भएको प्रतियोगितामा विभिन्न तौल समूहमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रतियोगिताको नतिजा अनुसार केटा ५०–५५ केजी तौल समूहमा अशिम खड्काथोकी प्रथम, देनिश खत्री द्वितीय र एलिज देवकोटा तृतीय भए। केटा ४०–४५ केजी तौल समूहमा उत्सव थापा विजेता र रिदम विक उपविजेता भए। केटा ३०–३५ केजी तौल समूहमा निश्चल महरा प्रथम, बिहान विक द्वितीय र सुदिप वली तृतीय भए। केटी ४०–४५ केजी तौल समूहमा प्रकृति महरा विजेता र युस्की रोका मगर उपविजेता भए भने केटी ५०–६० केजी तौल समूहमा एलिया घर्ती मगर विजेता भइन्।

कार्यक्रममा प्रतिभा घर्ती मगर र आमामूहले नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षकहरूलाई मायाको चिनो तथा परिवर्तन गाउँपालिकालाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन रोल्पा क्वान्किडो संघका उपाध्यक्ष दिपेन्द्र डाँगीले गर्नुभएको थियो भने कार्यक्रमको समापन अध्यक्ष सुरेन्द्र ओलीले गर्नुभएको थियो।
९९ पटक हेरीएको