रोल्पा, प्रेस काउन्सिल नेपालले जलजला टाइम्स डटकम (Jaljalatimes.com) का संवाददाता Press Anil K.C लाई सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषयमा निर्देशन तथा सचेत गराउँदै पत्र पठाएको छ।
प्रेस काउन्सिलले पठाएको पत्रमा Anil K.C ले चलाएको ‘Press Anil Kc’ नामक फेसबुक पेज र रीलमार्फत एक राजनीतिक दल तथा निर्वाचनमा उम्मेदवारको प्रचार हुने सामग्री सार्वजनिक भएको भन्दै काउन्सिलमा उजुरी परेको पत्रमा उल्लेख गरिएको छ।
उजुरीपछि काउन्सिलले गरेको अनुगमनमा पनि ती सामग्रीहरूमा उम्मेदवारको पक्षमा एकतर्फि प्रचार, दलको चुनाव चिन्ह सहित मत मागिएको र प्रचारलाई विशेष प्राथमिकता दिइएको देखिएको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको पत्रमा जनाइएको छ।
पत्रमा पत्रकार र सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित सूचना दिनुपर्ने, साथै कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न नपाइने, सामाजिक सञ्जालमार्फत मत माग्न, प्रचार सामग्री राख्न वा सेयर गर्न नपाइने व्यवस्था पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहितामा स्पष्ट रहेको स्मरण गराइएको छ।
प्रेस काउन्सिलले ती सामग्रीहरू पत्रकार आचारसंहिता २०७३ (संशोधन २०७६) र निर्वाचन आचारसंहिता २०८२ विपरीत देखिएको भन्दै, गल्ती सच्याउने तत्परता देखाई ती सामग्री सामाजिक सञ्जालबाट हटाउन वा सम्पादन गर्न र २४ घण्टाभित्र काउन्सिललाई जानकारी गराउन निर्देशन समेत दिएको छ।
साथै आगामी दिनमा आचारसंहिताविपरीत हुने किसिमका सामग्री नछाप्न र प्रसारण नगर्न सजग रहन सचेत गराइएको छ। संवाददाताको भूमिकामा रहँदा निर्वाचनको समयमा पत्रकारले कस्तो भूमिका निभाउनुपर्छ, निष्पक्ष पत्रकारले राजनीतिक प्रचार गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा आफ्नो राय र सुझाव पनि काउन्सिललाई पठाउन पत्रमा भनिएको छ।
पत्रमा ती सामग्रीसँग सम्बन्धित फेसबुक रीलका लिङ्कहरू पनि समेटिएका छन्। उक्त पत्रको बोधार्थ निर्वाचन आयोग र जलजला टाइम्स डटकमका सम्पादकलाई दिइएको छ।
६३० पटक हेरीएको