लोकेन्द्र के:सी 🖋️
रोल्पाको थबाङ गाउँपालिका साविक उवा क्षेत्रमा वर्षा लागेपछि स्थानीयहरू दैनिक कठिनाइमा परिरहेका छन्। सडक सुविधा नहुँदा बिरामीलाई अस्पताल पुर्याउन, खाद्यान्न तथा अन्य सामग्री ढुवानी गर्न समेत ठूलो समस्या छ।
स्थानीयवासीले बिरामीलाई उपचारका लागि लैजाँदै गर्दा बनेको तस्बिरमा पूर्ण रूपमा पहिरो गएको असुरक्षित बाटोमा हिँडिरहेको दृश्य देखिन्छ। पैदल बाटो जस्तो देखिँदैन, तर स्टेचरमा बिरामी बोकेर घण्टौं यात्रा गर्नुपर्ने बाध्यता यहाँको अवस्था स्पष्ट देखाउँछ।
स्थानीयहरू भन्छन्, “बाटो मात्र अफ्ट्यारो छैन, माथिबाट पहिरो खस्ने डरले ज्यानै जाने हो कि भन्ने त्रास छ। कम्तिमा पैदल बाटो सुधारिएको भए सजिलो हुन्थ्यो। ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नारा कहाँ हरायो?”
अर्का स्थानीयको भनाइमा, “बिरामीलाई अस्पताल लैजान गाह्रो छ, सामान ढुवानी गर्न पनि धेरै समय र मेहनत लाग्छ। स्थानीय, प्रदेश र संघीय सरकार सबैले मिलेर हेर्नु पर्छ।”
एक व्यापारीले भने, “ब्यापारको लागि दिनहुँजसो हिँड्नु पर्छ, तर यातायात सुविधा त छैन। पैदल बाटो नै राम्रो बनाइदिएमा हिँड्न सजिलो हुन्थ्यो। भोट माग्न मात्र आउँछन्, अन्य समयमा खोज्न जाँदा भेटिँदैन।”
स्थानीय जनताको ज्यान र दैनिकी सुरक्षित बनाउन सम्बन्धित निकायले समयमै ठोस पहल गर्नुपर्ने माग गरिएको छ। वर्षायाममा यहाँका नागरिकले भोगिरहेका कठिनाइ र जोखिम तत्काल सम्बोधन नगरेको खण्डमा समस्या अझ बढ्ने चेतावनी स्थानीयले दिएका छन्।
४९९ पटक हेरीएको