लोकेन्द्र के:सी 🖋️
रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सीमा जंगली जनावरको आक्रमणले किसानको वर्षभरको मेहनत नष्ट भएको छ। भिम प्रकाश खत्रीको करिब ६–७ रोपनी बाली पूर्ण रूपमा सखाप भएको छ।
त्यसै क्रममा, लालिगुरास कृषक समूहका २८ घर परिवारका किसानले लगाएको मकै, पिँडालु, सिमी र भटमासको बाली पनि जंगली जनावरले नष्ट गरेको छ। तर सबैभन्दा ठूलो नोक्सानी भिम प्रकाश खत्रीलाई परेको स्थानीय बासिन्दाहरूले बताएका छन्।
पीडित किसान भिम प्रकाश खत्रीले भने,
“अन्य छिमेकीको बारीमा जनावरहरू कहिलेकाहीँ मात्र आउँछन्, तर मेरो खेतमा त दिनहुँ आउँछन् र सबै बाली खाएर नष्ट गरिदिन्छन्। डुम्सी, खरायो र मिर्ग राति आएर बाली सखाप बनाउँछन्। यसलाई रोक्ने कुनै उपाय छैन।”
स्थानीय बासिन्दाहरूले गुनासो गर्दै भने,
“किसानले मेहनत गरेर मकै, पिँडालु, भटमास, सिमी रोप्छौँ, तर बाँदर, डुम्सी, खरायो र मिर्गले आएर सबथोक सखाप बनाइदिन्छ। यसरी वर्षभरको पसिना नै बर्बाद हुन्छ।”
किसानहरूले स्थानीय सरकार र सम्बन्धित निकायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्, ताकि भविष्यमा यस्ता क्षति कम गर्न सकियोस्।
६०३ पटक हेरीएको