२ असोज, काठमाडौँ । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले रिले अनशन तोडेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको पहलमा विगत ३८ दिनदेखि रिले अनशनमा बसेका समितिका पदाधिकारीले आन्दोलन अन्त्य गरेका हुन् ।
सङ्घर्ष समितिका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको जानकारी दिँदै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै परिमार्जन गर्ने आश्वासन दिए ।
‘चिकित्सा शिक्षा ऐनको सकारात्मक व्यवस्था गर्न सक्छौं। आवश्यकता अनुसार सुधार गर्न सकिन्छ। यो विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको छ। यसका लागि प्रधानमन्त्री पनि सकारात्मक छन्,’ उनले भने।
मन्त्री बस्नेतले यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्री पनि सकारात्मक भएकाले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
१४ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको संघर्ष समितिले आन्दोलन स्थगित गर्ने सहमति गरेको छ ।
समितिका सहसंयोजक भुवनचक्र जोशीले मन्त्रालयसँगको वार्तापछि आफ्ना माग सम्बोधन गर्ने विश्वासयोग्य वातावरण बनाइएको बताए ।
मन्त्रालयको सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलालले अनशन तोड्नेलाई जुस खुवाए ।
रिले हडताल अन्त्य गरेपछि संघर्ष समितिका पाँच वरिष्ठ पदाधिकारी वार्ताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए ।
वार्तामा मन्त्री बस्नेतसँगै मन्त्रालयका सचिव डा रोशन पोखरेल, अतिरिक्त सचिव डा विकास देवकोटा, डा टंक बोगटीलगायतको सहभागिता थियो । त्यसैगरी, सङ्घर्ष समितिका तर्फबाट संयोजक निर्मल सापकोटा, उपसंयोजक जोशीलगायतको उपस्थिति रहेको थियो ।
२०८ पटक हेरीएको