२ असोज, काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (नेकपा) युनान प्रान्तीय समितिको स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार उपराष्ट्रपति रामसहयप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको छ ।
सो अवसरमा दुई देशबीचको सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउने भावी उपायबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले नेपाल–चीन सम्बन्ध शान्ति, सहअस्तित्वको सिद्धान्त, मित्रता, आपसी सहयोग र साझेदारी, मौलिक हित र संवेदनशीलताको आधारमा बलियो भएको बताए । उनले छिमेकी चीन नेपालको प्रमुख र दीर्घकालीन विकास साझेदार रहेको बताए ।
उपराष्ट्रपति यादवले जनता–जनताबीचको सम्बन्ध सुमधुर द्विपक्षीय सम्बन्धको एउटा महत्वपूर्ण आयाम भएको बताउँदै नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई तल्लो तहसम्म थप सुदृढ तुल्याइने विश्वास व्यक्त गरे ।
चिनियाँ प्रतिनिधिमण्डलका नेता जेङले भ्रमण फलदायी भएको बताउँदै सम्बन्धलाई थप प्रगाढ, सुदृढ र सुदृढ बनाउन पहल गर्ने बताउनुभयो ।
२२९ पटक हेरीएको