असोज ५, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले शिक्षकका जायज माग सम्बोधन गर्दै विद्यालयमा बालबालिकाको कक्षा लिन पाउने अधिकारप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्ना माग पूरा गराउन विद्यालय बन्दबाहेक अन्य विकल्प खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको मूल्य र मान्यतालाई ध्यानमा राखेर आफ्ना मागहरू राख्न र आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत रहन सचेत गराएको छ ।
साथै, राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई वार्ताबाट समस्या समाधान गर्न र आन्दोलनमा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले सरोकारवाला र शिक्षक महासंघलाई व्यापक परामर्श र अन्तरक्रियाबाट विद्यालय शिक्षासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पनि आग्रह गरेको छ ।
प्रेस विज्ञप्तिमा राष्ट्रिय मानवअधिकार आयोगले शिक्षासम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्टि जनाउँदै सेप्टेम्बर २० बाट अनिश्चितकालका लागि विद्यालय बन्द गर्नेतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्यालयहरूलाई शान्ति क्षेत्र घोषणा गर्दा अनिश्चितकालका लागि विद्यालय बन्द हुँदा असर परेको भन्दै एनएचआरसीले विद्यार्थीको शान्तिपूर्ण वातावरणमा शिक्षा पाउने अधिकार हनन भएको निष्कर्ष निकालेको छ।
१५७ पटक हेरीएको