२४ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले एसियाली बैंकहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको एसियाली बैंकर्स एसोसिएसन (एबीए)को ३९औँ सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालमा लगानीका प्रचुर सम्भावना रहेको बताउँदै एसियाली मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपालमा लगानी भित्र्याउन आग्रह गरे । ।
‘निजी क्षेत्रका साथै विदेशी लगानीकर्ताका लागि नेपालमा लगानीको ठूलो अवसर छ। भारतले १० वर्षभित्र नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रतिबद्धता गरेको सन्दर्भमा जलविद्युत् क्षेत्रमा लगानीको ठूलो सम्भावना छ, त्यसैले म आग्रह गर्दछु । जलविद्युतको विकासमा बिना कुनै हिचकिचाहट लगानी गर्न सरकार प्रतिबद्ध छ,’ अर्थमन्त्रीले दोहोर्याए। सरकारले नीतिगत उपायबाट हरित ऊर्जा प्रवर्द्धन गर्ने बताउँदै उनले नेपालले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनमुक्त बनाउने लक्ष्य राखेको बताए ।अर्थमन्त्री महतले विश्व बैंक र एसियाली विकास बैंकले पनि नेपालमा ठूला जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउँदै सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउने आश्वासन दिए । उनले पछिल्लो समय जलविद्युत विकास क्षेत्रमा लगानी बढेको बताए ।
सरकारले विद्युत उत्पादन, साना उद्योग र कृषिलाई प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिरहेको अर्थमन्त्रीले बताए । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न चुनौतीका बाबजुद मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा रहेको बताए । आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान पु¥याउने बैंकिङ क्षेत्रका साधन र स्रोतको पूर्ण पुनर्संरचना गर्नुपर्ने बेला आएको बताउँदै उहाँले दिगो आर्थिक वृद्धिलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा मुद्रास्फीति केन्द्रीय बैंकले तोकेको सीमाभन्दा बढी रहेको भन्दै उनले अझै पनि केही उदीयमान बजार र विकासशील अर्थतन्त्र उच्च मुद्रास्फीतिको सामना गरिरहेको बताए ।
“पश्चिम एसियामा इजरायल र हमास बीचको बढ्दो युद्ध र रुस-युक्रेन द्वन्द्वले मूल्य स्थिर राख्न चुनौती खडा गरेको छ। यसको परिणाम स्वरूप, धेरै केन्द्रीय बैंकहरूले मौद्रिक नीति मार्फत कडा कदम चाल्न जारी राखेका छन्। हामीले लामो समयसम्म उच्च ब्याजदरको सामना गर्नुपर्नेछ।” गभर्नर अधिकारीले नेपाली बैंकले छोटो समयमा नै प्रगति गरेको भन्दै डिजिटल बैंकिङ प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए ।
उनले समस्याग्रस्त कर्जा बढ्न नदिन एसियाली बैंकहरूले सम्भावित जोखिमलाई आन्तरिक रूपमा व्यवस्थापन गरी व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । राष्ट्र बैंकका गभर्नरले तीव्र प्राविधिक परिवर्तनले बैंकिङ प्रणालीलाई धेरै फाइदा पु¥याएको र यसले बैंकिङलाई पेसामा परिणत गर्दै दिगोपनमा जोड दिएको बताए । एबीएका अध्यक्ष युजीन एस एसेभेडोले एसियाली मुलुकको समग्र अर्थतन्त्रको दिगोपनका लागि सहकार्यका साथै प्रभावकारी योजना ल्याउनु पर्ने आवश्यकता औंल्याए । उनले सम्मेलनले एसियाली बैंकहरुलाई आफ्नो आगामी रणनीतिको अवधारणा ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालमा पहिलो पटक आयोजना हुन लागेको एसियाली मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको सम्मेलनले नेपालीमा रहेका चुनौतीहरुको सामना गर्न उनीहरुको प्रभावकारी भूमिकाका लागि दीर्घकालीन रणनीति बनाउन सहयोग पुग्ने बताए । बैंकिङ क्षेत्र। नेपाल बैंकर्स एसोसिएसन र एसियाली बैंकर्स एसोसिएसनले संयुक्त रुपमा आयोजना गरेको दुईदिने सम्मेलनमा १८ देशका ६० भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
१२७ पटक हेरीएको