मुख्य समाचार

कोप–२८ प्रभावकारी, परिणाममुखी रह्यो: प्रधानमन्त्रीले

कोप–२८ प्रभावकारी, परिणाममुखी रह्यो:  प्रधानमन्त्रीले

१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन शिखर सम्मेलन कोप–२८ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) कोप–२८ मा भाग लिएर आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले यसपटक नेपालले आफ्ना एजेण्डा प्रभावकारी र वस्तुनिष्ठ रुपमा प्रस्तुत गरेको बताए । यसपटक नेपालले जलवायु परिवर्तनका मुद्दालाई तीव्रताका साथ उठाएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले नेपालमा परेको असरको क्षतिपूर्ति पाउनको लागि प्राथमिकताको सूचीमा नेपाल समावेश गरेको विषयमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।

नेपाल जलवायु वित्तको प्राथमिकता सूचीमा परेकाले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग बढ्ने अपेक्षा राख्दै प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घका महासचिवको हालैको नेपाल भ्रमणपछि जलवायु परिवर्तनका एजेन्डामा नेपालको आवाज दोहोर्‍याएर सशक्त बनाइएको बताए ।कोप–२८ मा पहिलो पटक नेपाल प्याभिलियन आयोजना गरी जलवायु परिवर्तनका विषयमा छलफल भएको र नेपाल प्याभिलियनमा विज्ञ, सञ्चारकर्मी र सरोकारवालाले आफ्नो धारणा राखेका थिए । जलवायु परिवर्तनका विषयमा नेपालले आफ्नो अधिकार प्रष्ट रुपमा राखेको बताउँदै प्रधानमन्त्रीले नेपालको सर्वत्र प्रशंसा भएको बताए । “यो असाधारण छ,” उनले तर्क गरे। प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कोप–२८ को साईडलाइनमा संक्षिप्त भेट भएको जानकारी दिँदै मोदीले नेपाल र भारतबीचको पारस्परिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

छुट्टै अंकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेरको सम्भावना नरहेको बताए ।

१७५ पटक हेरीएको

सम्बन्धित समाचार