२० मंसिर, काठमाडौं । रुसी सेनामा लड्न नेपाली युवा पठाउने गिरोहका सदस्यलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी टोलीले केही दिनदेखि काठमाडौंका विभिन्न स्थानमा गरेको अपरेशनपछि १२ जनालाई पक्राउ गरेको छ । उनीहरुले नेपाली युवालाई भारत हुँदै रुस पठाउने गरेका थिए । पक्राउ पर्नेमा दीपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले रुसी सेनामा भर्ना हुन युवा खोज्ने, कागजात मिलाउनेदेखि भिजिट भिसाको व्यवस्था गर्नेलगायतका गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे ।
युक्रेनसँगको भिडन्तका क्रममा रुसी सेनामा भर्ना भएका ६ नेपाली युवाको यसअघि नै मृत्यु भएको पुष्टि भइसकेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१२५ पटक हेरीएको