मुख्य समाचार

मानवअधिकार दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलद्वारा शुभकामना व्यक्त

मानवअधिकार दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलद्वारा शुभकामना व्यक्त

२४ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन भएपछि मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली सुदृढ हुने बताउनुभएको छ । यही मङ्सिर २४ गते मानवअधिकारको विश्वव्यापी घोषणापत्रको ७५औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले कानुनको भरपर्दो शासनसँगै कुनै पनि नागरिक मानव अधिकारबाट वञ्चित नहुने बताउनुभयो । सन् १९४८ डिसेम्बर १० मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको स्मरणमा हरेक वर्ष आज विश्वभर मानवअधिकार दिवस मनाइँदै आएको छ भने नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । उनले वञ्चित समुदायको अधिकार, स्वतन्त्रता र न्याय सुनिश्चित भए मात्र मानवअधिकार दिवस सार्थक हुने बताए ।

उनले नेपालको संविधानले प्रत्याभूत गरेका नागरिकका मौलिक हकको पूर्ण कार्यान्वयनमा पहल गर्नुपर्नेमा जोड दिए । त्यसैगरी उपराष्ट्रपति रामसहयप्रसाद यादवले मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका वाचा, प्रतिज्ञा, प्रतिबद्धता, मर्यादा र अधिकारमाथि निरन्तर प्रहार भएको बताए । यस अवसरमा शुभकामना सन्देश दिँदै उनले घोषणापत्रमा रहेका मूल्य र अधिकारलाई सामूहिक कार्यको दिशानिर्देशका रूपमा सम्मान गर्नुपर्ने बताए ।मानवअधिकार र सामाजिक न्याय सुनिश्चित गर्न नेपाल सक्रिय रहेको बताउँदै उहाँले सबै प्रकारका अराजकता, असहमति, विकृति र विसंगतिको अन्त्यका लागि देशका सबै नागरिक एकजुट हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि र महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर लागिरहेको बताए । सो अवसरमा उनले जातीय, क्षेत्रीय, लैङ्गिक र परम्परागत विभेदलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानून बनाएर मानवअधिकार सुनिश्चित गर्न सरकार लागिपरेको बताए ।

उनले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता र स्वतन्त्रतासँगै मानवअधिकारको सम्मान र संरक्षण गर्दै मानवअधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकार रक्षाका लागि दिनरात खटिरहेका सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार र कूटनीतिक नियोगका प्रतिनिधिमा शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि नेपालको संसदले राष्ट्रिय मानवअधिकार आयोग, अन्य संवैधानिक निकाय र नागरिक समाजसँग सहकार्य र समन्वय गरिरहेको बताए ।

आज मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख घिमिरेले मानवअधिकारको दृष्टिकोणबाट कानूनको मस्यौदा र परिमार्जनका लागि पहल भइरहेको बताए ।

१७४ पटक हेरीएको

सम्बन्धित समाचार