मुख्य समाचार

त्रिवेणीमा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न, ४० विद्यालयका शिक्षक सहभागी

त्रिवेणीमा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न, ४० विद्यालयका शिक्षक सहभागी

जुगार (रोल्पा), २४ जेठ,
​रोल्पाको त्रिवेणी गाउँपालिकामा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ आयोजित ५ दिने शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
​त्रिवेणी गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र र ब्रिटिश काउन्सिल (British Council) को प्राविधिक सहयोगमा सञ्चालित ‘एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी ५ दिने शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम’ को आइतबार एक विशेष समारोहका बीच समापन गरिएको हो। गाउँपालिकाको जुगारमा आयोजित उक्त तालिम जेठ २० गतेदेखि २४ गतेसम्म सञ्चालन भएको थियो।
​कार्यक्रमको समापन समारोहमा बोल्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले विद्यालयको शैक्षिक गुणस्तर सुधारको मुख्य कडी शिक्षक नै भएको कुरामा जोड दिनुभएको छ। शिक्षकहरू आफैं सक्षम र प्रविधिमैत्री नभई शिक्षामा परिवर्तन सम्भव नहुने उल्लेख गर्दै उहाँले ५ दिने तालिममा सिकेका ज्ञान र सीपलाई कक्षाकोठाको शिक्षण सिकाइमा अनिवार्य रूपमा उतार्न आग्रह गर्नुभयो। नयाँ एकीकृत पाठ्यक्रमको सफल कार्यान्वयन र विद्यार्थीहरूको निरन्तर मूल्याङ्कन प्रणाली (CAS) लाई रचनात्मक ढङ्गले अगाडि बढाउन शिक्षकहरू नै अग्रसर हुनुपर्ने उहाँको भनाइ छ। साथै, शिक्षा क्षेत्र गाउँपालिकाको प्राथमिकतामा रहेको स्पष्ट पार्दै उहाँले शिक्षकहरूको पेसागत क्षमता विकासका लागि स्थानीय सरकारले आगामी दिनमा पनि निरन्तर लगानी र सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


​त्यस्तै, ब्रिटिस काउन्सिलका एकेडेमीक कोअर्डिनेटर अशेष भट्टराईले सीमित स्रोत र साधनका बाबजुद सबै विद्यालयले यस किसिमको महत्त्वपूर्ण सिकाइ अवसर प्राप्त गर्नु आफैँमा ठुलो उपलब्धि भएको बताउनुभयो। उहाँले तल्लो तहको शैक्षिक जगलाई बलियो र व्यवस्थित नबनाई माथिल्लो तहमा अपेक्षित सिकाइ सक्षमता हासिल गर्न नसकिने यथार्थलाई औँल्याउँदै आधारभूत तहको सिकाइलाई मजबुत बनाउन विभिन्न कार्यक्रमहरू अगाडि बढाइएको जानकारी दिनुभयो।
​कोअर्डिनेटर भट्टराईले पालिका र शिक्षा शाखाको विशेष पहल एवं मिहिनेतबाट प्राप्त भएको यस ज्ञान, सीप र अभिवृत्तिलाई शिक्षकहरूले आफ्ना सहकर्मी तथा विद्यालयमा अनिवार्य रूपमा साटासाट गर्नुपर्नेमा जोड दिनुभयो। कार्यव्यस्तताका कारण सबैसँग प्रत्यक्ष संवाद गर्न कठिन भए तापनि रिसोर्स पर्सन (ऋषिकेश सर) मार्फत केन्द्र तथा अन्य क्षेत्रका नयाँ शैक्षिक गतिविधिहरू आगामी दिनमा पनि निरन्तर रूपमा साझा गरिने उहाँको प्रतिबद्धता थियो। शिक्षा क्षेत्रको विकासका लागि स्थानीय जनप्रतिनिधि र पालिकाले पुर्‍याएको सहयोग र देखाएको तत्परताको प्रशंसा गर्दै उहाँले विद्यार्थीहरूको सिकाइ र भविष्यका लागि शिक्षकहरूले ५ दिनसम्म दिएको समय र मिहिनेतप्रति हार्दिक आभार समेत प्रकट गर्नुभयो।
गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रममा त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणी डाँगी, प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कंडेल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लीला कुमारी घर्ती, ब्रिटिस काउन्सिलका एकेडेमीक कोअर्डिनेटर अशेष भट्टराई, कालिका स्वावलम्बन सामाजिक केन्द्र, कपिलवस्तुका शिक्षा अधिकृत एवम् प्रशिक्षक ऋषिकेश डाँगी, प्रशिक्षक डिल्लीकान्त आचार्य र शिक्षा अधिकृत एवम् प्रशिक्षक राम श्रेष्ठ, त्रिवेणी गाउँपालिका शिक्षा सहायक धन बहादुर बस्नेत लगाएत गाउँपालिका क्षेत्रभित्र पर्ने ४० वटा विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको यस तालिमले स्थानीय तहको शैक्षिक जगलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। तालिम समापनका अवसरमा सहभागी शिक्षकहरूले कक्षाकोठामा नयाँ जोस र प्रविधिसहित शिक्षण कार्य अघि बढाउने सामूहिक प्रतिबद्धता समेत जनाएका छन !

१९३ पटक हेरीएको

सम्बन्धित समाचार