रोल्पा, जेठ २८ गते/ रोल्पाको माडी गाउँपालिकामा बिहीबार बिहान भएको मिनी ट्रक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। आलु बोकेर गन्तव्यतर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा सल्यानका ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहीबार बिहान करिब साढे ७ बजेको समयमा माडी गाउँपालिका–१, पात्लेस्थित बल्ले–झिनुवा भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो। बल्लेखोलाबाट आलु लोड गरी पोखरातर्फ जाँदै गरेको रा.१ ख.३०४५ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका सल्यानको बागचौर नगरपालिका–४, दुदिलाबोट निवासी बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। सोही दुर्घटनामा परी गाडीका चालक दाङको बबई गाउँपालिका–५ का ४२ वर्षीय नोखिराय वली भने सामान्य घाइते भएका छन्।
सडकबाट ट्रक खसेको खबर प्राप्त हुनासाथ उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
६ पटक हेरीएको