असोज ९, बेइजिङ । नेपाल र चीनबीच १२ वटा विभिन्न सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी ली छ्याङबीच आज ग्रेट हल अफ द पिपलमा भएको द्विपक्षीय भेटपछि सम्झौता र एमओयूमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री दाहाल भदौ २३ गतेदेखि चीनको औपचारिक भ्रमणमा छन् ।
नेपाल र चिनियाँ अधिकारीका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव, चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले विभिन्न मन्त्रालयअन्तर्गतका समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
त्यसैगरी नेपाल र चीनबीच सन् २०१७ मा नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी समझदारीपत्रमा नेपाली राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको थियो ।
त्यसैगरी चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउने विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।
चीनको एनडीआरसी र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासमा सहकार्यका लागि सम्झौता भएको हो । राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन्
चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपक्षी तथा मत्स्यपालन विकासका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ ।
उक्त सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीले हस्ताक्षर गरेका छन् ।
सन् १९८१ मा भएको चीन–नेपाल व्यापार तथा भुक्तानी सम्झौताको समीक्षा र परिमार्जन गर्न संयुक्त प्राविधिक कार्यदल गठन गर्न चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको हो ।
सो अवसरमा जनवादी गणतन्त्र चीनको भन्सार सामान्य प्रशासन र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधी उत्पादनका बिरुवा निर्यात गर्ने प्रोटोकलमा सम्झौता भएको थियो । उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट पशुपक्षी विकास मन्त्रालयका डा पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको हो ।
चिनियाँ प्रेस तथा प्रकाशन विभाग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थहरूको अनुवाद र प्रकाशन गर्ने सम्झौता भएको छ। राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
त्यसैगरी नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनवादी गणतन्त्र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
त्यसैगरी राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच विपद् व्यवस्थापन सामग्री, जनशक्ति र हिल्सा–सिमकोट सडक आयोजनाका विषयमा पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
१३२ पटक हेरीएको