असोज २९, काठमाडौं । नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार जारी गरेको विज्ञप्तिमा पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको जनाएको छ ।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भालबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६९ रुपैयाँ तोकिएको छ । यी डिपोहरूमा डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ ।
दाङ र सुर्खेतमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७१ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १७२ रुपैयाँ रहेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।
केही महिनायता निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको यो पहिलो पटक हो । उच्च मुद्रास्फीति र जीवनयापनको बढ्दो लागतसँग संघर्ष गरिरहेका उपभोक्ताहरूलाई मूल्य कटौतीले केही राहत दिने सम्भावना छ।
१६९ पटक हेरीएको