कार्तिक ९, काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेलमा नेपालले शुक्रबार युएईसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिड्ने भएको छ । बुधबार भएको खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि उत्कृष्ट रन रेटका आधारमा युएईले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
यसअघि युएई र हङकङले एक–एक खेल जितेका थिए । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले टस जितेर पहिले ब्याटिङ गरेको २० ओभरमा ३ विकेट गुमाएर २१३ रन बनाएको थियो । ओपनर मार्टिन कोएत्जीले उत्कृष्ट प्रदर्शन गर्दै ५५ बलमा १० चौका र चार छक्का सहित ८८ रन बनाए । बाबर हयातले २० बलमा पाँच चौका र पाँच छक्का प्रहार गर्दै र्यापिड फायर ६० रन बनाए।
युएईका निलांस केसवानी, सञ्चित शर्मा र अकिफ राजाले समान १–१ विकेट लिए । जवाफमा युएईले आफ्नो रन पछ्याउने क्रममा पाँच विकेटको क्षतिमा १४३ रन जोडेको थियो । खालिद शाहले सर्वाधिक ३५ रन बनाए भने निलांस केसवानीले ३१ रनको महत्वपूर्ण योगदान दिए ।
हङकङका एहसान खान, आयुष शुक्ला, नसरुल्ला राना र यासिम मुर्तजाले एक एक विकेट लिएर टोलीको जितमा योगदान पुर्याए ।
२२४ पटक हेरीएको