१५ मंसिर, काठमाडौं । सरकारले खाद्य सुरक्षा तथा पोषण आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै शिक्षा क्षेत्रको विकासका लागि स्वीस सरकारले दिएको ६५ करोड रुपैयाँ अनुदान सहयोग पनि सरकारले स्वीकार गर्ने बताइन् । त्यसैगरी जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाउने निर्णय भएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट आवश्यक जनशक्ति तत्काल उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको मन्त्री शर्माले बताए । मन्त्रिपरिषद्ले राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयक, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक र सामाजिक सञ्जालको प्रयोग नियमन (सञ्जाल तथा व्यवस्थापन) विधेयकको मस्यौदालाई पनि स्वीकृत गरेको छ ।
सरकारले नेपाल स्वास्थ्य व्यावसायी परिषद्को अध्यक्षमा महोत्तरीका भरमरपुरा–५ निवासी सुबोधकुमार शर्मा र स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा तनहुँ निवासी डा गुणराज लोहनीलाई मनोनयन गर्ने निर्णय गरेको छ । सांस्कृतिक संस्थानको सञ्चालक समितिको अध्यक्षमा भोजपुरका चन्द्रकुमार राई र ई–गुड गभर्नेन्स आयोगको सदस्यमा कञ्चनपुर जिल्लाका पूर्णबहादुर कुँवर नियुक्त भएका छन् ।
२२९ पटक हेरीएको