मुख्य समाचार

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भवनको शिलान्यास

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भवनको शिलान्यास

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपाल प्रहरीसँगको सहकार्यमा कोरिया सरकारको सहयोगमा निर्माण हुन लागेको साइबर ब्यूरो भवनको बुधबार शिलान्यास गरेको छ ।

सामाखुशीको शिलान्यास कार्यक्रमको नेपालका लागि कोरियाली राजदूत ताई योङ पार्क र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले संयुक्त रुपमा गरेका थिए ।

सो अवसरमा राजदूत योङले साइबर अपराध अनुसन्धान र नियन्त्रणका लागि साइबर ब्यूरोको क्षमता अभिवृद्धि गरी साइबर अपराधबाट नागरिकलाई थप जोगाउन नेपाल प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, आईजीपी कुँवरले विज्ञान तथा प्रविधि क्षेत्रमा देखिएको विकासले नेपालमा मात्र नभएर विश्वमा ठूलो आयाम र चुनौती सिर्जना गरेको उल्लेख गरे । ‘नेपाल प्रहरीको क्षमता अभिवृद्धिसहित साइबर ब्युरो स्थापना’ परियोजनाअन्तर्गत नेपाल प्रहरीको साइबर ब्युरोको अत्याधुनिक भवन निर्माण हुन लागेको हो ।

भवनसँगै कोइकाले साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिक ल्याब र नेपाल प्रहरीको सान्दर्भिक जनशक्तिको क्षमता अभिवृद्धि सम्बन्धी उपकरण उपलब्ध गराउने छ जसले नेपाल प्रहरीको साइबर अपराधविरुद्धको क्षमतालाई सुदृढ बनाउने विश्वास लिइएको छ ।

आयोजनाको कुल बजेट ८० मिलियन अमेरिकी डलर छ र यो सन् २०२६ सम्ममा सम्पन्न हुनेछ ।

१४८ पटक हेरीएको

सम्बन्धित समाचार