रोल्पा — नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति रोल्पाद्वारा आयोजित तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार रोल्पाको लिवाङमा सम्पन्न भएको छ। संघका जिल्ला अध्यक्ष एन्जल बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सल्लाकार नौलसिंह पुनमगर रहनुभएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगर हुनुहुन्थ्यो। उहाँले “मगर खाम भाषामा स्थानीय पाठ्यक्रम” विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी, “मगर संस्कार, संस्कृति र पहिचान” विषयमा संगठन सल्लाहकार तथा विश्लेषक खेम बुढामगरले प्रशिक्षण दिनुभयो भने “साङ्गठनिक प्रशिक्षण” विषयमा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार बुढामगरले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको उद्घाटन मौनधारण तथा राष्ट्रिय र मगर राष्ट्रिय गानसँगै प्रमुख अतिथिबाट गरिएको थियो। स्वागत मन्तव्य संघका उपाध्यक्ष नवराज बुढामगरले प्रस्तुत गर्नुभएको थियो।
शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुविना सुनारी मगर, संघ सल्लाहकार उमेश पुनमगर, नेपाल मगर संघ रोल्पाका अध्यक्ष देउकाला कुमारी घर्तीमगर तथा प्रमुख अतिथि नौलसिंह पुनमगरले मगर विद्यार्थी संगठनको सुदृढीकरण र सक्रियताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश सचिव सुनिल बुढामगर, नेपाल मगर संघ रोल्पाका सचिव तथा सल्लाहकार स्मृति रोकामगर, पत्रकार महासंघका प्रतिनिधि खुम सुनार, सल्लाहकार उमेश पुनमगरलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम समापन गर्दै अध्यक्ष एन्जल बुढामगरले जिल्ला कार्यसमितिको नयाँ संरचना भएकाले केही कमजोरीहरू देखिएको स्वीकार गर्दै प्रशिक्षण कार्यक्रमले संगठन विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो। कार्यक्रमको सञ्चालन संघका सहसचिव खगेन्द्र बुढामगरले गर्नुभएको थियो।
४४३ पटक हेरीएको