रोल्पा, रुन्टीगढी गाउँपालिकाले नियमविपरीत शिक्षक सरुवा गरेको भन्दै शिक्षक संगठनहरूले घोर आपत्ति जनाएका छन्।
नेपाल शिक्षक महासंघ, पेशागत संघ तथा संगठनहरूको संयुक्त विज्ञप्तिमा गाउँपालिकाले शिक्षक सरुवासम्बन्धी ऐन, नियमावली तथा कार्यविधिको अवज्ञा गर्दै जबर्जस्ती सरुवा पत्र थम्याएको भन्दै विरोध गरेका छन्।
संयुक्त विज्ञप्ती अनुसार गाउँपालिकाले न त महासंघ, न त पेशागत संघ–संगठनहरूसँग छलफल गरी निर्णय गरेको हो, बरु गाउँपालिकाको शिक्षा समितिलाई समेत छलेर २०८२ भदौ १५ गते शिक्षकहरूको इच्छा विपरीत अपायक पार्ने गरी सरुवा पत्र थम्याइएको आरोप लगाइएको छ।
शिक्षक सरुवासम्बन्धी शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९, शिक्षक सरुवा निर्देशिका २०८१ र गाउँपालिकाको स्थानीय शिक्षा ऐन २०८१ तथा दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०८० मा उल्लेखित प्रावधानअनुसार शैक्षिक सत्रको सुरुवात र अन्त्यमा मात्र दरबन्दी मिलान तथा व्यवस्थापन गर्न सकिने व्यवस्था भए पनि त्यसको अवहेलना गरिएको विज्ञप्तिमा उल्लेख छ।
“शिक्षा ऐन, नियम, कार्यविधि र सामाजिक न्यायको सिद्धान्त विपरीत गरिएको यस निर्णयको हामी घोर भत्सना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ। साथै, सरुवा सम्बन्धी निर्णय कार्यान्वयन नगर्न पनि माग गरिएको छ।
संयुक्त विज्ञप्तिमा नेपाल शिक्षक महासंघ रुन्टीगढीका अध्यक्ष भीम बहादुर दशौंदी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष केशर बहादुर घर्ती, अखिल नेपाल शिक्षक संगठन रुन्टीगढीका अध्यक्ष खगेन्द्र के.सी. र नेपाल राष्ट्रिय शिक्षक संगठन रुन्टीगढीका अध्यक्ष भरत के.सी.को संयुक्त हस्ताक्षर रहेको छ।
४५१ पटक हेरीएको