मुख्य समाचार

रुकुम पश्चिममा जिप दुर्घटना : आठ जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना : आठ जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेमा सोमबार एक जिप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो।

दुर्घटनामा आठबिसकोट–१ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सबिता विक, १५ वर्षीया दिलमाया बुढा, आठबिसकोट–२ की १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल ओली र आठबिसकोट–३ की कमला ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, घाइते हुनेमा आठबिसकोट–१ की १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगीता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सबिता विक र मुसिकोट–२ का चालक टोपजंग बुढा रहेका छन्।

घाइतेमध्ये जुना बुढालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अन्य नौ जनाको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको डीएसपी विष्टले जानकारी दिए।

प्रहरीका अनुसार मृतक र घाइते सबैजना एक कार्यक्रममा सहभागी भएर गाउँ फर्किँदै गर्दा जिप दुर्घटनामा परेका हुन्। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

४७७ पटक हेरीएको

सम्बन्धित समाचार