पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मित्याल–अरुणखोला सडक खण्डअन्तर्गत निस्दी–४ च्युरीबास नजिकै एकलफोक्सिङ्ग नामक स्थानमा शुक्रबार बिहान जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
नवलपुरको अरुणखोला बाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। मृतकहरुको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा आठ जना घाइते भएको र उनीहरूलाई उद्धार गरी नवलपुर डण्डास्थित प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार उकालो सडकमा जिपले नतानेपछि यात्रु ओराल्ने क्रममा गाडी पछाडि फर्किएर सडकबाट झण्डै एक किलोमिटर तल खसेको थियो। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२०२ पटक हेरीएको