असोज १२, काठमाडौं । पैगम्बर मोहम्मदको जन्मजयन्तीका अवसरमा समाजमा भाइचारा र सामाजिक सद्भाव कायम गर्न आस्थाका नेताहरुले अपिल गरेका छन् ।
सो अवसरमा हिजो जनकपुरको तिरहुटिया गच्छीमा आयोजित खुला सम्मेलनमा नेताहरुले विभिन्न धर्म, जातजाति र संस्कृतिमा रहेका आम जनतामा सामाजिक सद्भाव कायम गर्न सदियौं पुरानो एकतालाई अक्षुण्ण राख्न आग्रह गरेका थिए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पछिल्लो समय विभिन्न धर्म, समुदाय र जातजातिको नाममा भइरहेका हिंसात्मक गतिविधिलाई निरुत्साहित गर्नु साझा दायित्व भएको बताए ।
संवैधानिक प्रत्याभूति भएको धर्मनिरपेक्षतालाई अवलम्बन गर्दै सद्भावपूर्ण नेपाली समाजमा खलल नपर्न सम्बन्धित समुदायलाई आग्रह गरे ।
नेकपा एमालेकी नेतृ एवं सांसद जुलीकुमारी महतोले कुनै पनि धर्मले हिंसा र कुकर्म गर्न नदिने बताउँदै सामाजिक एकताको संकल्प लिएर आउन सबैलाई आग्रह गरे ।
त्यस्तै गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले संविधानको दायराभित्र रहेर सबैले धार्मिक स्वतन्त्रताको उपभोग गर्न स्वतन्त्र रहेको बताउँदै असामाजिक गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराए ।
मौलाना इजरायल अहमद रिजावी र हाकिम रायनलगायत आस्थाका नेताहरूले सामाजिक सद्भाव, भाइचारा, एकता र सद्भावमा खलल नपर्न सबैलाई आग्रह गरे।
मुहम्मदको १४९८ औँ जन्मजयन्ती आज विश्वभर मनाइँदैछ । मधेस प्रदेश सरकारले बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
२९७ पटक हेरीएको