कार्तिक १८, काठमाडौं । नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ८० जनाको ज्यान गएको र थप १४० जना घाइते भएको अधिकारीहरुले पुष्टि गरेका छन् । शक्तिशाली भूकम्पले व्यापक संरचनात्मक क्षति पुर्याएको छ, जसले गर्दा धेरै भवनहरू ध्वस्त भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोक्काका अनुसार जाजरकोटमा मात्रै ४४ जनाको ज्यान गएको छ भने भेरी, नलगाड, कुशे, चेडागढलगायत विभिन्न नगरपालिकामा ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेको छ ।
घाइतेमध्ये जाजरकोटका ५५ जनाको स्वास्थ्य उपचार भइसकेको छ भने ५ जनाको उन्नत उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा र बाँकीको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । छिमेकी जिल्ला रुकुम पश्चिममा पनि ठूलो क्षति पुगेको छ । मृत्यु हुनेको संख्या ३६ पुगेको जिल्ला प्रहरी प्रमुख डीएसपी नामराज भट्टराईले जानकारी दिए ।
रुकुम पश्चिममा ८५ जना घाइते भएका छन्, जसमा ९ जनाको अवस्था गम्भीर रहेकोले हेलिकप्टरबाटै उद्दार गर्ने योजना छ । बाँकी घाइतेहरुको जिल्ला अस्पताल, चौरजहारी अस्पताल र अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
१३९ पटक हेरीएको