१० मंसिर, काठमाडौं । नेपाल–चीन अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री दौड प्रतियोगिता नेपाली टोली विजयी हुँदै समापन भएको छ ।
पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा ४० किलोमिटर दौडमा सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टोलीले प्रथम हुँदै तीन लाख ६० हजार नगद पुरस्कार हात पारे । यस्तै सोही प्रतियोगितामा नेपालका श्रेवि महर्जन, महेश थारु र वसन्त थारु दोस्रो भए । दोस्रो हुनेले नगद पुरस्कार २ लाख ८८ हजार रहेको छ । नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको प्रतियोगितामा नेपाली टोलीका श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगर तेस्रो भएकाले २ लाख १६ हजार नगद पुरस्कार प्राप्त भएको अवार्ड शाखाका संयोजक गोकर्ण कार्कीले जानकारी दिए । प्रतियोगितामा चौथो भएको चिनियाँ टोलीले एक लाख ४४ हजार नगद पुरस्कार हात पारेको छ । टोलीमा लिन सियाक्जी, याङ चुनहेङ र हाउ छिङ थिए। त्यसैगरी ३८ किलोमिटर दौडमा नेपालका होमलाल श्रेष्ठ प्रथम भए । उनलाई १ लाख ४४ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । सोही प्रतियोगितामा नेपालका वेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो र करणवाला चौथो भए । दोस्रो हुनेले नगद १ लाख ८ हजार र तेस्रोलाई ५४ हजार र चौथोलाई १८ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको कार्कीले जानकारी दिए । नेपाल चाइना इन्टरनेशनल माउन्टेन क्रस कन्ट्री प्रतियोगिता काठमाडौंस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त पहल हो ।
साझा समृद्धिको लागि दौडको नारा अन्तर्गत समूह तथा व्यक्तिगत प्रतिस्पर्धा, ह्याप्पी दौड र विद्यार्थी दौड गरी चार विधामा आयोजना भएको थियो । समूहगत प्रतियोगितामा कुल २० समूहले भाग लिएका थिए । प्रतियोगितामा दौड, साइकल र बोटिङ गरी ४० किलोमिटरको दुरी तय गरिएको थियो ।
लेकसाइडको बाराहीघाटबाट सुरु भएको दौड बिरौटा, फर्सेखोला, रमादी, उल्लेरी, भुम्दी, लुकुन्स्वर्ण, लिचीबोट हुँदै बाराहीघाटमा समापन भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखराका मेयर धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा मुख्यमन्त्री पाण्डेले प्रतियोगिताले विश्वभर पोखराको लोकप्रियता बढाउन र खेल पर्यटनको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
नेपालका लागि चिनियाँ राजदूत सोङले नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्तो कार्यक्रमले विशेष योगदान पु¥याउने बताए । पोखरामा यसअघि नै नेपाल चाइना ड्र्यागन बोट फेस्टिभल भइसकेको छ, जसले लेक सिटीमा थप चिनियाँ पर्यटक ल्याउन मद्दत गरेको उनले बताए ।
१२९ पटक हेरीएको