१० माघ, काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आज (बुधबार) नेपाली यू–१९ क्रिकेट टोलीले पाकिस्तानसँग महत्वपूर्ण खेल खेल्दैछ ।
खेल दक्षिण अफ्रिकाको पूर्वी लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा दिउँसो १:४५ मा हुनेछ । आइतबार न्युजिल्यान्डसँगको पहिलो खेलमा नेपाल ५४ रनले पराजित भएपछि टोलीमा पाकिस्तानविरुद्ध जित सुनिश्चित गर्ने दबाब बढिरहेको छ । नेपालले समूह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्नेछ । दक्षिण अफ्रिकामा आयोजना हुने १५ औं यू–१९ विश्वकप क्रिकेटमा नेपालसहित १६ देशले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई चार समूहमा विभाजन गरी समूह ‘डी’ मा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड रहेका छन् । अन्य समूहमा समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समूह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इङ्ल्यान्ड छन् ।
समूह ‘सी’ मा जिम्बावे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् । समूह चरणको भिडन्त पछि, प्रत्येक समूहबाट शीर्ष तीन टोलीहरू अर्को चरणमा पुग्नेछन्, जहाँ १२ अग्रस्थानी देशहरूलाई सुपर सिक्स खेलहरूका लागि दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक टोलीले सुपर सिक्स चरणमा दुईवटा मात्र खेल खेल्नेछ र दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। भारतले यसअघि पाँच पटक यू–१९ विश्वकपको उपाधि जितेको छ भने अष्ट्रेलियाले तीन पटक उपाधि जितेको छ । पाकिस्तानले दुई पटक उपाधि जितेको छ भने बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक–एक पटक उपाधि जितेका छन् ।
यू–१९ विश्वकपमा सातौं पटक खेलेको नेपाल आठ वर्षको अन्तरालपछि प्रतियोगितामा फर्किएको छ ।
१५५ पटक हेरीएको