अन्तराष्ट्रिय

पूर्वी कङ्गोमा चर्चमाथि भीषण आक्रमण : ३४ जनाको ज्यान गयो, आईएस समर्थित समूहको संलग्नता

पूर्वी कङ्गोमा चर्चमाथि भीषण आक्रमण : ३४ जनाको ज्यान गयो, आईएस समर्थित समूहको संलग्नता

कङ्गोको पूर्वी क्षेत्र कोमान्डामा रहेको एक क्याथोलिक चर्च परिसरमा आइतबार राति भएको आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। इस्लामिक स्टेट (आईएस) समर्थित विद्रोही समूह ‘अलाइड डेमोक्रेटिक फोर्सेस’ (एडीएफ)लाई उक्त आक्रमणको दोष दिइएको छ।

एसोसिएटेड प्रेसका अनुसार आक्रमण स्थानीय समय अनुसार राति करिब १ बजे भएको थियो। चर्चभित्र तथा आसपास रहेका सर्वसाधारणमाथि गोली चलाइएको र धेरै घर तथा पसलहरूमा आगजनी गरिएको जनाइएको छ। घटनास्थलमा तीन वटा जलेका शव फेला परिसकेको भए पनि खोजी तथा उद्धार कार्य अझै जारी रहेको बताइएको छ।

कोमान्डा क्षेत्रका नागरिक समाज संयोजक डियुडोने ड्रुआन्थाबोले भने, “परिसरभित्र र बाहिर रहेका व्यक्तिहरूलाई लक्ष्यित गरी गोली चलाइयो। धेरै घरहरूमा आगो लगाइएको छ। अहिले पनि उद्धार टोली खटिएको छ।”

कंगोको इटुरी प्रान्तस्थित सेनाका प्रवक्ता लेफ्टिनेन्ट जुल्स न्गोंगोले आक्रमणको पुष्टि गर्दै भने, “हामीलाई प्राप्त प्रारम्भिक जानकारीअनुसार, केही सशस्त्र व्यक्तिहरूले कोमान्डा नजिकको एक चर्चमा धावा बोलेर झण्डै १० जनाको हत्या गरे। साथै, वरपरका पसलहरूमा पनि आगो लगाइएको थियो।”

सुरक्षा बलहरूको उपस्थिति रहेको सहरमा यति ठूलो हमला हुनु अस्वाभाविक रहेको बताइएको छ। घटनापछि स्थानीय बासिन्दाहरू त्रसित हुँदै सुरक्षित स्थानतर्फ भाग्न थालेका छन्।

इस्लामिक स्टेटसँग आबद्ध एडीएफ समूह लामो समयदेखि युगान्डा–कङ्गो सीमावर्ती क्षेत्रमा सक्रिय रहँदै आएको छ। समूहले विगतमा पनि बारम्बार सर्वसाधारणमाथि ज्यानमारु आक्रमण गर्दै आएको छ।

यसै महिना सुरुमा पनि सोही समूहले इटुरी प्रान्तमै ठूलो नरसंहार गर्दै दर्जनौँको हत्या गरेको थियो। संयुक्त राष्ट्रसंघका प्रवक्ताले उक्त घटनालाई “रगतको होली” भन्दै निन्दा गरेका थिए।

पूर्वी कङ्गोमा पछिल्ला दिनहरूमा दोहोरिरहेका यस्ता हिंसात्मक घटनाले शान्ति र सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न गराएको छ।

५०५ पटक हेरीएको

सम्बन्धित समाचार