रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगारस्थित एक होटलमा संकास्पद रूपमा लुकेर बसेका दुईमध्ये एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा करिब ७५ वर्षका भिँ बहादुर दमै रहेका छन्। उनी तुलसीपुरबाट आएको जानकारी भए पनि कुन कारागारबाट फरार भएको भन्ने यकिन खुल्न सकेको छैन।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ८ बजे बजार क्षेत्रमा नियमित गस्तीका क्रममा दमै पक्राउ परेका हुन्। उनी २४ गते जुगार आएका भए पनि आज मात्र प्रहरीले नियन्त्रणमा लिइएको छ। अर्का फरार कैदी भने अहिलेसम्म फेला परेका छैनन्।
यसअघि जिल्ला अदालत सुर्खेतले कर्तव्यज्यान मुद्दामा दमैलाई दोषी ठहर गर्दै ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। अदालतको निर्णय अनुसार २०७८ साल माघ २७ गते भएको फैसलामा जरिवाना तिरेमा २०८३ साल मङ्सिर ६ गतेसम्म कैद रहने र जरिवाना नतिरे थप पाँच महिना १७ दिन कैद भुक्तान गरी २०८४ साल जेठ २४ गतेमात्र कैदमुक्त हुने उल्लेख गरिएको छ।
४०२ पटक हेरीएको