मुख्य समाचार

असोज २० देखि बेपत्ता गङ्गा सार्की झुन्डिएको अवस्थामा मृत फेला

असोज २० देखि बेपत्ता गङ्गा सार्की झुन्डिएको अवस्थामा मृत फेला

रुकुम पश्चिम — असोज २० गतेदेखि बेपत्ता मुसिकोट नगरपालिका–१३ डाँडाछिवाङकी २५ वर्षीया गङ्गा सार्की मृत फेला परेकी छन्। उहाँ आज बिहान गाउँबाट करिब एक किलोमिटर टाढा रहेको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार जङ्गल गएका स्थानीयले दुर्गन्ध आएपछि खोजी गर्दा रूखमा झुन्डिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। “शव सडेको अवस्थामा फेला परेको छ, त्यसैले बेपत्ता भएकै दिन झुन्डिएको हुनसक्ने अनुमान गरिएको छ,” उहाँले बताउनुभयो।

प्रहरी निरीक्षक पुनको टोली घटनास्थलमा पुगेको छ। अहिले शवको मुचुल्का उठाउने कार्य भइरहेको र त्यसपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ।

सार्की असोज २० गते साँझ करिब पाँच बजे घाँस काट्न जङ्गल गएकी थिइन्। त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो। गङ्गाको माइतीघर रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ हो।

घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक बुझाइअनुसार गङ्गाले भारतमा रहेका श्रीमानसँग अन्तिम पटक फोनमा कुरा गर्दा सामान्य विवाद भएको बताइएको छ।

२७५ पटक हेरीएको

सम्बन्धित समाचार