१७ भदौ, लुम्बिनी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको लडाई सधैं प्रतिक्रियावादी र विकास विरोधी तत्वका विरुद्ध रहेको बताउनुभएको छ ।
एमाले नेतृत्वको सरकार ढलेपछि विकासका कामहरु ठप्प भएको दाबी गर्दै ओलीले एमाले नेतृत्वको सरकारले सुरु गरेका सबै विकास आयोजना अलपत्र अवस्थामा रहेको तर्क गरे ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको शनिबार बुटवलमा भएको प्रथम महाधिवेशनको उद्घाटन गर्दै ओलीले सुशासन र समृद्धिको अभियानमा एमालेले नेतृत्व गर्ने बताए ।
सो अवसरमा उनले लुम्बिनी प्रदेश कमिटीमा रहेका पार्टीका नेताहरुलाई नेतृत्व चयनका लागि सहमति जुटाउन र सहमति नभए लोकतान्त्रिक प्रक्रिया अपनाउन आग्रह गरे ।
त्यसैगरी, ओलीले लुम्बिनीमा पार्टीको विवाद सतहमा नआउन नेताहरुलाई सचेत गराए ।
त्यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नभएको बताए ।
उनले पार्टीभित्रको विवादलाई उजागर गरेर पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको तर त्यो कहिल्यै सफल नहुने बताए ।
त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले एमाले आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यास गर्ने पार्टी भएको बताए ।
कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
महाधिवेशनमा प्रदेशका १२ जिल्लाका १ हजार ४ सय प्रतिनिधिको सहभागिता रहेको छ ।
२११ पटक हेरीएको