२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरूसँग बृहत्तर छलफल गर्दैछन् ।
सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलका लागि गन्तव्य मुलुकका राजदूत तथा प्रतिनिधिमण्डलका प्रमुख काठमाडौं आइपुगेका छन् ।
प्रधानमन्त्री दाहालको अध्यक्षतामा हुने छलफलमा श्रम आप्रवासन मुद्दा र कूटनीतिक नियोगको भूमिकाका विषयमा केन्द्रित रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति पाएदेखि कार्यस्थलमा आइपुग्दा भोग्नुपरेका समस्या समाधान गर्ने, समाधानका उपाय खोज्ने र निष्कर्षलाई निर्णयमा परिणत गर्ने विषयमा छलफल हुनेछ ।
छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालय पनि सहभागी हुनेछन् । बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनागत सुधारको पहिचान गर्नेछ ।
प्रधानमन्त्रीको पहलमा नेपालमा हुन लागेको यो पहिलो भेट हो ।
गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाट आवश्यक तथ्याङ्क सङ्कलन र वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या समाधानका उपायका लागि मुख्य सचिवको नेतृत्वमा सम्बन्धित मन्त्रालयका सचिव सम्मिलित कार्यदल गठन गरिएको थियो ।
२१७ पटक हेरीएको