१ असोज, काठमाडौँ । ललितपुरको संयुक्त बजार अनुगमन टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई म्याद नाघेका सामान वितरण गरेको आरोपमा रु एक लाख जरिवाना गरेको छ ।
आइतबार ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले पाटनको कृष्णगल्लीस्थित भाटभटेनी सुपरमार्केट, मानभवनस्थित बिग मार्ट र पुल्चोकस्थित सेलवे डिपार्टमेन्ट स्टोरको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा भाटभटेनीले म्याद नाघेको घिउ र अण्डा बिक्री गरेको पाइएपछि एक लाख रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बताए ।
उनका अनुसार बिग मार्टले बिक्री गरेको हरियो तरकारी कम तौल भएको पाइएपछि १० हजार जरिवाना गरिएको हो । त्यसैगरी सेलवे विभागमा म्याद नाघेको बियर बिक्री गरेको पाइएपछि १० हजार जरिवाना गरिएको उनले बताए ।
ललितपुरको संयुक्त बजार अनुगमन टोलीले आइतबारदेखि बजार अनुगमन थालेको छ ।
‘जनस्वास्थ्यमा हानी पु¥याउने खाद्यवस्तुको बिक्री वितरण नगर्न चेतावनी दिए पनि पालना नगरेको भन्दै जरिवाना तिरेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने ।
उनले जिल्लामा सघन अनुगमन गरिने बताए ।
घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका प्रमुख सञ्जय थापाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी खान नमिल्ने बस्तुलाई विसर्जन गरिएको बताए ।
अनुगमन टोलीले अखाद्य वस्तुको पनि विसर्जन गरेको छ ।
२१८ पटक हेरीएको