कर्णाली

भूकम्प अपडेट: मृत्यु हुनेको संख्या १५७ पुग्यो; १९७ अरु घाइते

भूकम्प अपडेट: मृत्यु हुनेको संख्या १५७ पुग्यो; १९७ अरु घाइते

१९ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ भने घाइतेको संख्या १९७ पुगेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको जानकारी दिए ।त्यसैगरी जाजरकोट जिल्लामा एक सय ५ जना, रुकुम पश्चिममा ८५, बैतडी र दैलेखमा तीन/तीन र रोल्पामा एक जना घाइते भएका छन् ।घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज, काठमाडौंलगायत सहरमा लगिएको छ । उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा १ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडामा शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै भूकम्प प्रभावित क्षेत्रमा मेडिकल टोली र राहत सामग्रीसहित पुगेका छन् । उनले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

त्यसैगरी, सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जिल्लालाई ५/५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । भूकम्पपीडितको राहतका लागि थप निर्णय गर्न प्रधानमन्त्री दाहालले आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

२३४ पटक हेरीएको

सम्बन्धित समाचार