९ मंसिर, काठमाडौं । गत महिना मुस्ताङ जिल्लामा पर्यटकको संख्या उल्लेख्य छ । कर्कित महिनामा झण्डै ८० हजार पर्यटकले हिमाली जिल्लाको भ्रमण गरेका छन् ।
चाडपर्वका कारण आन्तरिक पर्यटकको संख्या निकै बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार कात्तिकमा ५ हजार ५०४ अन्तर्राष्ट्रिय र ७३ हजार ८७९ आन्तरिक पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । जोमसोम र ल्होमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) कार्यालयले जिल्लामा आउने विदेशी पर्यटकको अभिलेख राख्छ भने घासा प्रहरी चौकी र लेटे प्रहरी चौकीले आन्तरिक पर्यटकको अभिलेख राख्छन्।
मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेले दशैं, तिहार र छठको चाडपर्वमा पर्यटकको लाम लाग्ने गरेको बताउँदै एक महिनामा झण्डै १४ हजार सवारीसाधन पर्यटक बोकेर जिल्ला प्रवेश गरेको बताए । बेनी–जोमसोम रुटबाहेक पोखरा–जोमसोम हवाई मार्गबाट पनि यात्रुहरु यहाँ आइपुगेका छन् । मुक्तिनाथस्थित होटल रानीपौवाका होटल व्यवसायी सुरेन्द्र गौचनले कात्तिक महिनामा पर्यटकको आगमन उत्साहजनक रहेको बताए । ‘गत वर्षको चाडपर्वमा वर्षाका कारण सोचेअनुसार पर्यटक नआए पनि यसपटक सडक सञ्जाल र सफा मौसमका कारण पर्यटकले छोटो यात्राका लागि मुस्ताङलाई नै प्राथमिकता दिए’, गौचनले भने ।
मुस्ताङ भ्रमणका लागि शरद ऋतुलाई उपयुक्त समय मानिन्छ । जिल्लामा पर्यटकको यो उल्लेख्य संख्यामा यहाँका होटल व्यवसायी तथा सरोकारवालाले मुस्ताङको पर्यटन बाउन्सब्याक भएकोमा सन्तोष व्यक्त गरेका छन् ।
मुक्तिनाथ, जोमसोम, कागबेनी, ल्होमान्थाङ, मार्फा, थिनी र धुम्बा ताल मुस्ताङका प्रमुख पर्यटकीय र धार्मिक आकर्षण हुन् ।
१४४ पटक हेरीएको