१४ भाद्र, जुम्ला । जुम्लामा बिहीबारदेखि कर्णाली प्रदेशकै ठुलो र लामो जात्रा सुरु भएको छ।
गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिन्छ। जुम्लामा यो जात्रा वि.सं १९५३ सालबाट लगातार मनाइँदै आएको छ।
जात्राको पहिलो दिन गाईजात्रा निकालिएको हो। दिवङ्गत भएका आफन्तहरुको सम्झना गर्दै उनीहरुको आत्मशान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाइएको जात्रा समितिका अध्यक्ष हरि श्रेष्ठले बताए।
एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यहरुको सम्झना र प्रतीकको रुपमा मानिसलाई गाईको रुपमा सिँगारेर वा गाईलाई नै खलंगाबजार परिक्रममा गरिएको छ। बजार परिक्रमा गर्दा श्रद्धालुहरूले गाईको पुच्छर समाइ वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफूल, दही, चिउरा दान गर्ने चलन छ।
लिच्छविकालमा मल्ल राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए। त्यसपछि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको किंवदन्ती छ।
गाईजात्रा सदरमुकामको मेन बजारबाट कालेखोली हुँदै चन्दननाथ भैरवनाथ मन्दिरको परिक्रमा गरी पुरानो बसपार्क हुँदै जिप्रका, मुख्य बजारमा आएर समापन भएको थियो।
१७८ पटक हेरीएको