मुख्य समाचार

राष्ट्रपति पौडेलसँग अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलको भेट

राष्ट्रपति पौडेलसँग अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलको भेट

१५ भाद्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अमेरिकी कांग्रेसको प्रतिनिधिमण्डलले १४ भाद्र, बिहीबार भेट गरेको छ । मार्क पोकानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले राष्ट्रपतिसँग शीतल निवासमा भेट गरेको हो ।

भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य मान्यता कायम राख्न लोकतन्त्रको स्थापना अपरिहार्य भएको र लोकतन्त्र पुनर्स्थापनापछि जारी भएको नेपालको नयाँ संविधानले समावेशी प्रावधानसहित मानवीय मूल्यलाई संस्थागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले विभिन्न सीमान्तकृत समुदायका समस्यालाई बुझेर नयाँ संविधानमा मानवीय मूल्यको व्यवस्था समेटिएको बताए ।

लामो सङ्घर्षपछि नेपालमा राजनीतिक रूपमा लोकतन्त्र स्थापना भए पनि सोहीअनुरूपको सामाजिक व्यवस्था र अवस्थालाई आकार दिन धेरै काम हुन बाँकी रहेको राष्ट्रपति भण्डारीले बताए । यस सम्बन्धमा नेपाल भ्रमणमा रहेको अमेरिकी प्रतिनिधिमण्डलको एजेण्डा महत्वपूर्ण हुने उनले बताए ।

“गरिबीले मानवीय मूल्यमान्यता विरुद्धको विसंगति निम्त्याउँछ। गरिबी निवारणसँगै विसंगति र विकृति क्रमशः हटाइनेछ,” पौडेलले भने।

सो अवसरमा अमेरिकी प्रतिनिधिमण्डलले नेपालको संविधान ‘धेरै राम्रो’ भएको भन्दै देशको मूल कानुनबाट प्रभावित भएको बताए ।

अमेरिकी संविधानमा नरहेको नेपालमा महिला अधिकारसँग सम्बन्धित प्रावधान रहेको बताउँदै प्रतिनिधिमण्डलले नेपालमा मानवीय मूल्यमान्यता स्थापित गर्ने उपायबारे छलफल गर्न आफ्नो भ्रमणको उद्देश्य रहेको बताए ।

मानवअधिकार, श्रम, अध्यागमन, बालबालिका, बालविवाह, रोजगारी, व्यापार र न्यायमा जनताको पहुँच जस्ता विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको प्रतिनिधिमण्डलले जानकारी दिएको छ ।

१९२ पटक हेरीएको

सम्बन्धित समाचार