मुख्य समाचार

प्राधिकरणले २२ दिनपछि उद्योगलाई विद्युत् आपूर्ति पुनः जडान

प्राधिकरणले २२ दिनपछि उद्योगलाई विद्युत् आपूर्ति पुनः जडान

१ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिरेका २३ वटै उद्योगको विद्युत् आपूर्ति पुनः जडान गरेको छ । प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उद्योगमा विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।

प्राधिकरणका उपप्रबन्ध निर्देशक मनोज सिलवालले मन्त्रिपरिषद्को निर्णयपछि लाइन पुनः जडान गरिएको जानकारी दिए । प्राधिकरणले मन्त्रिपरिषद्को निर्णयबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट शुक्रबार पत्र पनि प्राप्त गरेको छ । ‘शुक्रबार मध्यरातसम्म २३ वटै उद्योगमा विद्युत् आपूर्ति सुचारु भएको छ’, उपप्रबन्ध निर्देशक सिलवालले भने, ‘ट्रङ्क र डेडिकेटेड लाइनको विवाद समाधान गर्न सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेपछि हामीले विद्युत् आपूर्ति सुचारु गरेका हौँ । प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार औद्योगिक लाइन जडान गर्ने निर्णय गरेको प्राधिकरणका एक सदस्यले जानकारी दिए । सञ्चालक समितिको बैठकपछि प्राधिकरणले आफ्ना क्षेत्रीय र वितरण केन्द्रलाई औद्योगिक लाइन जडान गर्न निर्देशन दिएको थियो । सोही अनुसार कार्यालयले विद्युत् लाइन पुनः जडान गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइनको महसुलको विषयमा छानबिन गर्न पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोही बैठकले उद्योगलाई विद्युत् लाइन पुनः जडान गर्न निर्देशन दिने निर्णय गरेको हो । डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी विद्युत उपभोग गरेका ६१ उद्योगको बक्यौता पुस मसान्तसम्म २२ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस ७ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ट्याङ्की लाइन र डेडिकेटेड लाइन प्रयोग गर्ने उद्योगीको लाइन काटेर विद्युत्को बक्यौता रकम असुल गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालको निर्देशनमा प्राधिकरणले डिसेम्बर २२ गते एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका चार उद्योगको लाइन काटेको थियो । प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काटेपछि उद्योगी र प्राधिकरणबीचको विवाद चर्किएको हो । ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीले प्राधिकरणले टीओडी मिटर डाटा उपलब्ध गराए मात्रै विद्युत महसुल तिर्ने बताए ।

तर, प्राधिकरणले लाइन काटेको २२ दिनमा विद्युत् लाइन पुनः जडान गरेको थियो ।

१२६ पटक हेरीएको

सम्बन्धित समाचार