३ माघ, काठमाडौं । रुसी सेनामा भर्ना भएका लमजुङका एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दूधपोखरी गाउँपालिका–१ घमरचोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए । उनका अनुसार रुसी सेनामा भर्ना भएका गुरुङको मृत्युको खबर पाँच दिनअघि मात्रै प्राप्त भएको थियो । मृतक गुरुङसँगै रुसी सेनामा भर्ना भएका उनका साथीहरूले भाइ कुमार गुरुङलाई खबर पठाए । गुरुङ रोजगारीका लागि साढे तीन महिनाअघि रुसी सेनामा भर्ना भएका थिए । उनको घरमा बाबु, आमा, श्रीमती र एक छोरा छन् ।
रुसी सेनामा भर्ती भएका ११ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । युक्रेनले कम्तीमा चार नेपाली नागरिकलाई युद्ध कैदीका रूपमा राखेको छ।
७५ पटक हेरीएको