मुख्य समाचार

जनकल्याण मा.वि मा देखिएको विवाद समाधान

जनकल्याण मा.वि मा देखिएको विवाद समाधान

रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका–४ सिम्पानीस्थित जनकल्याण माध्यमिक विद्यालयमा देखिएको विवाद अन्ततः समाधान भएको छ।

शिक्षक–अभिभावक संघका अध्यक्ष प्रबिन खड्का र विद्यालयका प्राविधिक (प्राबी) स्थायी गणित शिक्षक नगेन्द्र घर्ती बीच सुरु भएको विवाद समयसँगै विभिन्न विषयमा फैलिँदै गम्भीर बन्दै गएको थियो।

अभिभावक संघका अध्यक्ष खड्काले विद्यालयमा गणित विषय प्रभावकारी रूपमा नपढाइएको आरोप लगाएपछि गणित शिक्षक घर्तीले आफू अनुपस्थित रहेको समयमा अपमान र बदनाम गर्ने प्रयास गरिएको भन्दै विद्यालय प्रशासन र गाउँपालिकाको शिक्षा शाखामा निवेदन दिएका थिए। उक्त विवाद समाधानका लागि विद्यालय व्यवस्थापन समितिले प्रयास गरे पनि तत्काल समाधान हुन सकेको थिएन। साथै, गाउँपालिकाले पनि समयमै आवश्यक चासो नदेखाएको स्थानीयहरूको गुनासो थियो।

पछिल्लो समय विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी तथा तोडफोड गर्न लाग्दा समेत सम्बन्धित शिक्षक र अभिभावक संघका अध्यक्षले त्यसलाई रोक्न सक्रिय पहल नगरेको आरोप लागेको थियो।

यसैबीच, त्रिवेणी गाउँपालिका न्यायिक समिति संयोजक लेखमणि डाँगी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगा प्रसाद घर्ती, अभिभावक संघ अध्यक्ष प्रबिन खड्का, शिक्षक नगेन्द्र घर्ती लगायत सरोकारवालाहरूबीच भएको छलफलबाट दुबै पक्षबीचको विवाद समाधान भएको हो।

यस क्रममा विद्यालयका प्रधानाध्यापक र सहायक प्रधानाध्यापकले राजीनामा दिए पनि राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयको नियमित पठनपाठन प्रभावित हुने अवस्था देखिएकाले राजीनामा स्वीकृत नगर्ने निष्कर्षमा पुगेको व्यवस्थापन समिति अध्यक्ष गंगा प्रसाद घर्तीले बताएका छन्।

विवाद समाधान भएसँगै विद्यालयको शैक्षिक गतिविधि अब सामान्य रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

२६५ पटक हेरीएको

सम्बन्धित समाचार